वीरगञ्ज। नेपाली कांग्रेसले आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ मधेस प्रदेशका ३२ सिटमध्ये १३ क्षेत्रमा मात्रै अगाडी रहेको अर्थात जित्न सक्ने विश्लेषण गरेको छ। पार्टीको आन्तरिक विश्लेषणमा बारा क्षेत्र नम्बर ४ मा कांग्रेस निकै पछाडी देखिएको हो ।
यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी अरु उम्मेदवार भन्दा धेरै अगाडी रहेको कांग्रेसबाट सर्वेक्षणमा खटिएका नाम खुलाउन नचाहने एक नेताले बताए ।
कांग्रेस उपसभापति तथा चुनावी परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले पार्टीका सबै उम्मेदवारको अवस्थाबारे सर्वेक्षण रिपोर्ट लिइरहेका छन । पार्टीबाट देशव्यापी सर्वेक्षणका लागि २२ जना खटिएका छन् भने अनौपचारिक रूपमा ४ सय जनामार्फत कांग्रेसले सूचना संकलन गरिरहेको छ।
उपसभापति शर्मालाई आएका रिपोर्टहरूको विश्लेषण गर्दा प्रत्यक्षमा देशभरबाट ५८ सिटमा कांग्रेस अगाडि रहेको तर बारा ४ मा भने निकै पछाडी रहेको रिर्पोट छ। यस्तै कांग्रेसको आन्तरि सर्वेक्षणमा बारा क्षेत्र नम्बर १ मा भने कांग्रेस अगाडी देखिएको छ ।
त्यसैगरि सर्लाही १, ४, महोत्तरीको १ क्षेत्र, धनुषा ३ र ४, रौतहट १ र २, सप्तरी १ र ४, पर्सा २ र सिरहाको २ नम्बर क्षेत्रमा अहिले कांग्रेस अगाडी रहेको पार्टीको विश्लेषण छ । समानुपातिकतर्फ भने यसपाली मत बढ्ने पार्टीले आन्तरिक विश्लेषण गरेको छ। कांग्रेसले गत निर्वाचनमा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ २७ लाख १५ हजार २२५ मत पाएको थियो।
तत्कालीन माओवादी, एकीकृत समाजवादी र लोसपासँग गठबन्धन गरी १६५ मध्ये ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसले ५७ सिट जितेको थियो। अहिले १६५ क्षेत्रमै उम्मेदवारी दिएको कांग्रेस प्रत्यक्षमा सबैभन्दा बढी सिट जित्ने दावी गरेको छ ।