वीरगञ्ज। वीरगञ्जस्थित चिनी कारखानाको ठूलो क्षेत्रफलमा फैलिएको जग्गा वर्षौंदेखि उपयोगविहीन अवस्थामा रहेको छ । उक्त सार्वजनिक सम्पत्तिको सदुपयोग गर्नुपर्ने आवाज बढिरहेका बेला नेपाली कांग्रेसका युवा नेता कन्चन झाले त्यसलाई “केन्द्रीय हरित पार्क” का रूपमा विकास गर्ने प्रस्ताव अघि सारेका छन् ।
झाले लामो समयदेखि खाली अवस्थामा रहेको यस्तो महत्वपूर्ण जग्गा यत्तिकै छाडिनु उपयुक्त नभएको उल्लेख गर्दै यसलाई सार्वजनिक हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । “वीरगञ्ज जस्तो तीव्र रूपमा विस्तार भइरहेको सहरलाई ठूलो हरित सार्वजनिक स्थानको आवश्यकता छ, यो विलासिता होइन,” उनले भने ।
उनका अनुसार संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी उक्त क्षेत्रलाई प्राकृतिक स्वरूपको हरित पार्कमा विकास गर्न सकिन्छ । प्रस्तावित पार्कमा हिँड्ने तथा दौड्ने प्राकृतिक ट्रयाक, बालबालिकाका लागि खेलस्थल, खुला जिम, विश्रामका लागि हरित क्षेत्र तथा साना सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने खुला स्थान निर्माण गर्न सकिने उनले बताए ।
“यदि यो योजना कार्यान्वयनमा आयो भने वीरगञ्जका हजारौं परिवारले स्वच्छ वातावरणमा समय बिताउने अवसर पाउनेछन्,” उनले भने ।
वीरगञ्ज चिनी कारखानाको जग्गा ठूलो क्षेत्रफलमा फैलिएको छ । पर्सा जिल्लामा मात्रै भएको करिब ५२ बीघा जग्गामध्ये २० बीघा विभिन्न सरकारी कार्यालयले भोगचलन गरीरहेका छन् भने बाँकी जग्गा उपयोगबिहिन अवस्थामा छ । यति ठूलो सार्वजनिक सम्पत्ति लामो समयदेखि प्रयोगविहीन रहेको भन्दै युवा नेता झाले चिन्ता व्यक्त गरेका छन् ।
उक्त विषय यसअघि पनि पटक–पटक उठाइए पनि कार्यान्वयनमा जान सकेको छैन । यदि चिनि मिलको जग्गामा हरित पार्क निर्माण गरेमा गर्मीको समयमा शितलता पाउन सकिने वीरगञ्ज १४ पिपराका विश्वेश्वर पटेल बताउँछन् ।
स्थानीय समेत हरित क्षेत्रको अभाव झेलिरहेको वीरगञ्जमा यस्तो पार्क निर्माण भए सहरको वातावरणीय सन्तुलन सुधार हुनुका साथै जनस्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्छन् ।