वीरगञ्ज ६ र १० मा रिमाको घरदैलो, जनताले जिताउनेमा विश्वस्त

bpnnetwork.com

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रिमा कुमारी यादवले वीरगञ्ज महानगरपालिका वडा नं. ६ र १० मा घरदैलो गरेकी छिन् ।

निर्वाचन लक्षित अभियानअन्तर्गत आयोजित घरदैलो कार्यक्रममा यादवले वडा नं. ६ र १० का विभिन्न टोलमा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै मतदाताका समस्या, अपेक्षा र सुझाव सुनेकी थिइन् । कार्यक्रममा स्थानीयले सडक, खानेपानी, सरसफाइ, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका विषयमा आफ्ना धारणा राखेका थिए ।

घरदैलोका क्रममा यादवले विकास निर्माणलाई परिणाममुखी बनाउने, सुशासनलाई प्राथमिकतामा राख्ने तथा युवाका लागि रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्कमा रहने बताउँदै क्षेत्रको समग्र विकास आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गरिन् ।

यादवले भनीन्, “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो । वीरगञ्ज महानगरका वडा नं. ६ र १० सहित सम्पूर्ण क्षेत्रमा पूर्वाधार विकास, महिला सशक्तीकरण, शिक्षा–स्वास्थ्य सुधार र पारदर्शी प्रशासनका लागि स्पष्ट योजनासहित अघि बढेको छु । जनताको साथ पाएमा प्रतिबद्धताअनुसार काम गरेर देखाउनेछु ।”

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य विजय कुमार सरावगी, वीरगञ्ज महानगरपालिका वडा न. १० को वडाअध्यक्षका प्रत्यासी युवा नेता अजय गुप्ता लगायत स्थानीय कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । 


प्रतिक्रिया