वीरगञ्ज। पर्सा क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर ४ सवैया टाडीमा नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादवको घरदैलो कार्यक्रम उत्साहका साथ सम्पन्न भएको छ। टोल–टोलमा पुगेर मतदातासँग भेटघाट गर्दा स्थानीयको उल्लेखनीय सहभागिता देखिएको थियो।
सवैया टाडी, बिरुवागुठी लगायतका क्षेत्रमा पुगेकी यादवलाई स्थानीयले फूलमाला र खादा लगाएर स्वागत गरेका थिए। महिला, ज्येष्ठ नागरिक र युवाहरूको बाक्लो उपस्थिति देखिएको कार्यक्रममा मतदाताले आफ्नो क्षेत्रका समस्या र अपेक्षा प्रत्यक्ष रूपमा राखेका थिए।
मतदातासँग संवाद गर्दै यादवले आफू क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताइन्। आधारभूत पूर्वाधार सुधार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार, कृषिमा देखिएका नीतिगत समस्या समाधान तथा युवाका लागि रोजगारी र अवसर सिर्जना आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो। उनले महिला सशक्तीकरणलाई पनि मुख्य एजेन्डाका रूपमा अघि बढाउने स्पष्ट पारिन्।
“अब सक्षम र सक्रिय नेतृत्वको आवश्यकता छ,” उनले भनिन्, “विकासलाई व्यवहारमा देखिने गरी काम गर्नुपर्छ, नारामा मात्र सीमित हुनु हुँदैन।”
घरदैलोका क्रममा स्थानीयवासीले यसपटक परिवर्तनको पक्षमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले सूर्यछापमा मतदान गरी रिमा यादवलाई विजयी गराउने दाबी गरे।
कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एमाले नेता उषमान अंसारी, सन्जु छतकुली, अजय साह लगायत स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
सवैया क्षेत्रमा देखिएको उत्साह र सहभागिताले पर्सा–२ मा रिमा यादवको समर्थन विस्तार हुँदै गएको संकेत दिएको छ।