रिमाको योजनाले तरंग: सामुदायिक विद्यालयदेखि पर्यटकीय सर्किटसम्म चौतर्फी चर्चा

bpnnetwork.com

फागुन १८, पर्सा ।  

पछिल्लो समय पर्सा जिल्लाको राजनीतिक वृत्तमा रिमाको नाम तीव्र गतिमा चर्चामा आउन थालेको छ। सामुदायिक विद्यालयमा बस सेवा लागू गराउने महत्वाकांक्षी योजना सार्वजनिक गरेसँगै उनको पहलले आम अभिभावकदेखि विद्यार्थी र शिक्षाविद्हरूबीच सकारात्मक बहस सुरु भएको छ।

     रिमाले सार्वजनिक गरेको योजनाअनुसार ग्रामीण तथा टाढाका बस्तीका विद्यार्थीहरूलाई लक्षित गर्दै विद्यालय बस सेवा सञ्चालन गरिनेछ। आर्थिक अभावका कारण पढाइ छोड्न बाध्य हुने विद्यार्थीहरूको संख्या घटाउने र नियमित उपस्थितिमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको बताइएको छ। स्थानीय अभिभावकहरूका अनुसार यदि योजना कार्यान्वयनमा आयो भने सामुदायिक विद्यालयप्रति आकर्षण समेत बढ्ने अपेक्षा गरिएको छ।


योजनाको चर्चा यत्तिमै सीमित छैन। रिमाले पर्साको पर्यटन प्रवर्द्धनका लागि छुट्टै “पर्यटकीय सर्किट” को अवधारणा पनि अघि सारेकी छन्। प्रस्तावित सर्किटमा पर्सागढी, पर्सा राष्ट्रिय निकुञ्ज र भाथाधाम लाई समेटेर एकीकृत पर्यटन मार्ग विकास गर्ने योजना छ। यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास गरिएको छ।

राजनीतिक वृत्तमा भने यी योजनाले तरंग ल्याएको छ। विपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसिया र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशील कुमार कानुले योजना कार्यान्वयनको सम्भाव्यता र बजेट स्रोतबारे प्रश्न उठाएका छन्। “घोषणा गर्न सजिलो छ, तर स्रोत सुनिश्चित नगरी जनतालाई सपना बाँड्नु उपयुक्त हुँदैन,” उहाँहरुले सञ्चारकर्मीहरूसँग भनेका हुन् ।

तर रिमाको पक्ष भने आत्मविश्वासमा देखिन्छ। उनका समर्थकहरूका अनुसार यो योजना केवल घोषणा नभई चरणबद्ध कार्ययोजना सहित अघि बढाइएको हो। स्थानीय युवाहरू र व्यवसायीहरू समेत पर्यटन सर्किट अवधारणाप्रति उत्साहित देखिएका छन्।


प्रतिक्रिया