प्रलोपा पर्सा २ का उम्मेदवार अमिताभ बचन दास : शिक्षा, राजनीति र सामाजिक सेवामा सक्रिय

bpnnetwork.com

वीरगञ्ज। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अमिताभ बचन दास लामो समयदेखि विद्यार्थी राजनीति, पार्टी संगठन र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ अन्तर्गत उदयपुरघुर्मी–जसौली टोल स्थायी घर भएका दास बुबा दिनेश्वर दास र आमा जलकुमारी देवीका जेठा छोरा हुन्। पाँच दाजुभाइ र एक बहिनीमध्ये उनी जेठा सन्तान हुन्।

शैक्षिक रूपमा गणित विषयमा बलियो पकड बनाएका दासले एमएड (गणित) सम्मको अध्ययन पूरा गरेका छन्। हाल त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) अध्ययनरत छन्। उनले स्नातक तह पनि गणित विषयमै अध्ययन गरेका हुन्। विद्यालय शिक्षा क्रममा एसएलसीसम्म डोकैला बहुअरी स्कुलमा अध्ययन गरेका दासले कक्षा ५ सम्म रामपुर जसौलीमै पढेका थिए।

उनको राजनीतिक यात्रा २०५७ सालमा अखिल क्रान्तिकारीबाट सुरु भएको हो। विद्यार्थी संगठनको इकाइ अध्यक्ष हुँदै जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय सचिवको जिम्मेवारी सम्हाल्दै उनले विद्यार्थीका मुद्दामा निरन्तर काम गरे। माओवादी केन्द्र रहँदा उनले पर्सा क्षेत्र नम्बर २ को इन्चार्जको जिम्मेवारी पनि निर्वाह गरेका थिए।

नेकपाबाट विभाजन भएर गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा उनी केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्जको भूमिकामा सक्रिय छन्। जनयुद्धकालीन शान्ति प्रक्रियाका बेला २०६० सालमा उनले १५ महिना जेल जीवन पनि बिताएका छन्।

राजनीतिसँगै दास सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। उनी पर्सागढी शहीद स्मृति प्रतिष्ठानका सल्लाहकार हुन्। साथै जिल्ला खेलकुद विकास समिति पर्साको अध्यक्ष भएर चार वर्ष काम गरेका उनले खेलाडीमुखी कार्यक्रम, प्रशिक्षण, सम्मान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गरेका थिए। खेलकुदको भौतिक पूर्वाधार सुधारमा पहल गर्दै नगरपालिकासँग समन्वय गरी खेलकुद विकास समितिको गेट, पर्खाल र भवन स्तरोन्नति तथा मर्मतसम्भार गराएका थिए। नारायणी रंगशालामा भिआइपी प्याराफिट निर्माण पनि उनको कार्यकालमा सम्पन्न भएको थियो।

त्यसैगरी उनले खानेपानी संस्थानको बोर्ड अफ डाइरेक्टरका रूपमा काम गरेका छन् भने राष्ट्रिय युवा परिषद् पर्सा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहँदा युवामैत्री कार्यक्रमहरू सञ्चालन गरेका थिए।

शिक्षा, राजनीति, युवा तथा खेलकुद क्षेत्रको अनुभव बोकेका दास पर्सा २ मा परिवर्तन र विकासको एजेन्डासहित प्रतिनिधि सभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया