वीरगञ्ज । पर्सा क्षेत्र नं. २ की नेकपा एमालेकी प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नं. ४ का विभिन्न टोलका मतदातासँग भेटघाट गरेकी छन् ।
पर्सागढीको परसुरामपुर, पशुराम टोल र भेडाहा टोलमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम उनले सम्पन्न गरेकी छन् ।
घरदैलोका क्रममा उम्मेदवार यादवले पर्सागढीका मतदातासँग प्रत्यक्ष संवाद गर्दै खानेपानी, सडक, रोजगारी, शिक्षा र स्वास्थ्यसँग सम्बन्धित स्थानीय मुद्दाबारे जानकारी लिएकी थिइन् । मतदातासँगको भेटघाटमा उनले पर्सागढीमा देखिएका समस्या अस्थायी उपायले होइन, दीर्घकालीन योजना र स्पष्ट नीतिमार्फत समाधान गर्नुपर्ने धारणा राखिन् ।
यादवले पर्सागढीको ऐतिहासिक पहिचान र सम्भावनालाई उपयोग गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताइन् । त्यसका लागि पूर्वाधार विस्तार, स्थानीय उत्पादन र रोजगारी सिर्जनामा जोड दिँदै समग्र सामाजिक–आर्थिक विकासको खाका तयार गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
भेटघाटका क्रममा प्राप्त माया, सद्भाव र समर्थनले आफ्नो अभियानलाई थप बल मिलेको बताउँदै यादवले पर्सागढीको विकास र परिवर्तनको यात्रामा जनताको साथ अनिवार्य रहेको उल्लेख गरिन् ।
स्थानीय मुद्दालाई केन्द्रमा राखेर अघि बढिरहेको आफ्नो अभियान निरन्तर जारी रहने भन्दै उम्मेदवार यादवले पर्सा क्षेत्र नं. २ का हरेक बस्ती र टोलसम्म पुगेर जनतासँग संवाद गर्ने प्रतिबद्धता दोहोर्याइन् ।