वीरगञ्ज। पर्सा क्षेत्र नम्बर २ की प्रतिनिधि सभा उम्मेदवार रिमा कुमारी यादवले बहुदरमाई नगरपालिका वडा नम्बर ४, डोकैला चोकमा वडा सम्पर्क कार्यालय स्थापना गरेकी छन् । आयोजित कार्यक्रमबीच कार्यालयको विधिवत् उद्घाटन गरिएको हो ।
उद्घाटन गर्दै उम्मेदवार रिमा कुमारी यादवले चुनाव केवल मत माग्ने प्रक्रिया मात्र नभई जनताको समस्या बुझ्ने अवसर पनि भएको बताइन् । उनले सम्पर्क कार्यालयमार्फत स्थानीय बासिन्दाका गुनासा सुन्ने, सुझाव संकलन गर्ने र ती समस्यालाई सम्बन्धित निकायसम्म पु–याउने प्रतिबद्धता व्यक्त गरिन् । जनताको घरदैलोमै पुगेर उनीहरूको आवश्यकता बुझ्ने आफ्नो अभियानलाई कार्यालयले थप व्यवस्थित बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेदवार प्रदीप यादव, नेकपा एमालेका केन्द्रीय सदस्य विजय कुमार सरावगी, मधेश प्रदेशका उपाध्यक्ष विचारी यादव तथा बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेली लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
उपस्थित नेताहरूले क्षेत्र नम्बर २ मा विकास, सुशासन र जनसेवाका एजेन्डालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनीहरूले सम्पर्क कार्यालय स्थापना हुनु सकारात्मक सुरुआत भएको उल्लेख गर्दै जनतासँग प्रत्यक्ष सम्वाद बढाउने माध्यमका रूपमा यसको उपयोग गर्न आग्रह गरे ।
डोकैला चोकमा स्थापना गरिएको उक्त सम्पर्क कार्यालयमार्फत अब नियमित रूपमा मतदाता भेटघाट, छलफल तथा गुनासो संकलन कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।