वडालाई अलपत्र पारेर संसद छिर्ने सुशिलको सपना

bpnnetwork.com

 माघ २१,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १० का निर्वाचित वडाध्यक्ष सुशिल साह कानुले कार्यकाल पूरा हुन नपाउँदै पदबाट राजीनामा दिएर पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्। उनी हाल चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका हुन्। तर स्थानीय तहमा पाएको जिम्मेवारी अधुरै छाडेर संघीय संसदको सपना देख्नुले उनको नियत र राजनीतिक स्थिरतामाथि प्रश्न उठाएको छ ।


सुशिल साह कानु २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा नं. १० बाट १२१९ मतसहित पराजित भएका थिए। दोस्रो प्रयासमा २०७९ सालको निर्वाचनमा १५ सय ९६ मत ल्याएर उनी वडाध्यक्षमा निर्वाचित भए। मतदाताले दोस्रो पटक दिएको विश्वासलाई पाँच वर्षसम्म जोगाउनु पर्ने बेला उनले बीचमै पद छाड्नु धेरैका लागि अस्वाभाविक देखिएको छ।


स्थानीय मतदाताका अनुसार उनले वडामा दीर्घकालीन योजना, पूर्वाधार विकास र सेवाप्रवाहमा उल्लेखनीय उपलब्धि देखाउन नपाउँदै राजीनामा दिएका हुन्। वडावासीले प्रत्यक्ष रूपमा अनुभव गर्नुपर्ने विकासका काम अधुरै रहेको अवस्थामा व्यक्तिगत राजनीतिक महत्वाकांक्षाका लागि पद छाड्नु जिम्मेवारीबाट पन्छिनु जस्तै भएको भन्दै उनको आलोचना भइरहेको छ ।


राजनीतिक विश्लेषकहरू भन्छन्, स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पहिलो प्राथमिकतामा जनताप्रतिको उत्तरदायित्व पूरा गर्नुपर्छ। तर वडाकै जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने व्यक्तिबाट संघीय संसदमा गएर जनताको आवाज बलियोसँग उठाउने अपेक्षा गर्नु स्वाभाविक रूपमा कठिन हुन्छ।


पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देखिएको जनलहरलाई अवसरका रूपमा प्रयोग गरेर संसद प्रवेश गर्ने प्रयास गरेको आरोप पनि सुशिलमाथि लागिरहेको छ । यसले उनलाई अवसरवादी राजनीतिज्ञका रूपमा चित्रित गरेको विपक्षीहरूको दाबी छ ।


यसरी हेर्दा, वडामा अपूरा काम, अधुरो कार्यकाल र पद त्यागको निर्णयले सुशिल साह कानुको उम्मेदवारीलाई पर्सा क्षेत्र नं. २ का मतदाताले किन र कुन आधारमा विश्वास गर्ने भन्ने प्रश्न अझै अनुत्तरित नै छ ।

प्रतिक्रिया