पर्सा–१
निर्वाचन क्षेत्र पर्सा–१ मा उम्मेदवार प्रदिप यादवमाथि पैसा र पावरको दुरुपयोग गरेको आरोप थप गम्भीर बन्दै गएको छ। स्रोतका अनुसार चुनावी प्रचारका क्रममा पाँचवटा भन्दा बढी गाडी प्रयोग गरिएको र राति ९ बजेसम्म चुनावी कार्यक्रम सञ्चालन गरिएको बताइएको छ, जुन निर्वाचन आचारसंहिता विपरीत मानिन्छ।
यस विषयलाई लिएर उज्यालो नेपाल पार्टी का उम्मेदवार पराग सिंहले कडा आपत्ति जनाएका छन्। उनले स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचनको माग गर्दै आचारसंहिता उल्लंघनका विषयमा तत्काल छानबिन गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
आरोप सार्वजनिक भएपछि पर्सा–१ मा चुनावी माहोल तातेको छ। नागरिक समाज र राजनीतिक वृत्तमा समेत निष्पक्ष छानबिनको माग चर्किँदै गएको छ। यस घटनाले निर्वाचन प्रक्रियाको विश्वसनीयतामाथि प्रश्न उठाएको भन्दै सरोकारवालाहरूले निर्वाचन आयोगको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्।