पर्सा २ मा रिमा यादवलाई जिताउन एकबद्ध हुन एमाले नेता झांक्रीको आह्वान

bpnnetwork.com

वीरगञ्ज । पर्सा जिल्लाको बहुदरमाई नगरपालिकाको डोकैला गाउँ राजनीतिक उत्साहले भरिएको थियो । नेकपा एमालेले आयोजना गरेको भव्य पार्टी प्रवेश कार्यक्रमले स्थानीय राजनीतिक माहोल नै तताएको छ । कार्यक्रममा सयौं स्थानीय युवा, महिला तथा अग्रजहरू एमालेमा प्रवेश गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो साथ दिने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नेकपा एमालेकी नेता तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झांक्री प्रमुख अतिथिका रूपमा उपस्थित रहेकी थिइन् । उनले कार्यक्रममा बोल्दै पर्सा निर्वाचन क्षेत्र नं. २ मा पार्टीको जित सुनिश्चित गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरिन् ।  

पर्सा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेकी उम्मेदवार रिमा यादवप्रति जनताको विश्वास दिनप्रतिदिन बढ्दो देखिएको छ । स्थानीय बासिन्दाहरूले उनलाई नयाँ, ऊर्जाशील र प्रतिबद्ध नेतृत्वका रूपमा लिएका छन् ।

कार्यक्रममा सहभागी धेरैले विगतका अनुभवबाट सिक्दै अब वैकल्पिक र सक्षम उम्मेदवारको खोजी पूरा भएको बताएका थिए । “हामीले खोजेको नेतृत्व अब पाएका छौं,” एक स्थानीय युवाले भने, “रिमा यादव हाम्रो आवाज संसदसम्म पु¥याउन सक्षम हुनुहुन्छ ।”

डोकैलामा आयोजित कार्यक्रममा महिलाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । उनीहरूले रिमा यादवले शिक्षा, स्वास्थ्य, रोजगारी र महिला सशक्तीकरणका एजेन्डा उठाउने विश्वास व्यक्त गरिन् । कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूलाई टीका र खादाले स्वागत गरिएको थियो । 

रिमा यादवले आफ्नो सम्बोधनमा युवालाई उद्यमशीलता, कृषिमा आधुनिकीकरण र स्थानीय पूर्वाधार विकासमा विशेष ध्यान दिने योजना सार्वजनिक गरिन् ।

कार्यक्रममा एमालेका स्थानीय नेताहरूले पनि मन्तव्य राख्दै संगठनलाई वडा तहसम्म सशक्त बनाउने रणनीति अघि बढाइएको बताए । उनीहरूले बहुदरमाई नगरपालिकासहित सम्पूर्ण पर्सा २ मा एमालेको पक्षमा जनलहर सिर्जना भएको दाबी गरे ।

राजनीतिक विश्लेषकहरूका अनुसार नयाँ अनुहारको रूपमा रिमा यादवको उदयले पर्सा २ को प्रतिस्पर्धालाई रोचक बनाएको छ । विशेषगरी युवा पुस्ता र महिलामाझ उनको लोकप्रियता बढ्दै जानुले आगामी निर्वाचनमा समीकरण परिवर्तन हुन सक्ने संकेत गरेको छ ।


प्रतिक्रिया