फागुन ५, पर्सा–
पर्सा निर्वाचन क्षेत्र नम्बर २ की उम्मेदवार रिमा कुमारी यादव ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफू विजयप्रति विश्वस्त रहेको बताउनु भएको छ। सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पार्टी प्रतिको धारणालाई संकेत गर्दै, “सूर्यग्रहण क्षणिक हो, सूर्यको प्रकाश दीर्घकालीन ” भन्नुभयो।
उहाँले आफ्नो उक्त अभिव्यक्तिमार्फत राजनीतिक जीवनमा आउने चुनौती, आलोचना र अवरोधहरू अस्थायी हुने तर विकास, स्थायित्व र जनताको विश्वास दीर्घकालीन हुने सन्देश दिन खोजेको स्पष्ट गर्नुभयो।
पर्सा क्षेत्र नम्बर २ मा करिब ९५ हजार मतदाता रहेकोमा यादवले क्षेत्रका विभिन्न वडा र बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाएको बताउँदै आफूले जनताबाट उत्साहजनक समर्थन पाइरहेको दाबी गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, कृषि विकास र पूर्वाधार विस्तारलाई आफ्नो प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
यस क्षेत्रमा उनको मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस सँग रहेको छ। उहाँले लोकतान्त्रिक प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै अन्तिम निर्णय मतदाताको हातमा रहने बताउनु भयो । “हामी विचार र एजेन्डामा आधारित प्रतिस्पर्धा चाहन्छौं,” उहाँले भन्नु भयो।
यादवले आफ्नो जित सुनिश्चित गर्न संगठन सुदृढीकरण, युवा तथा महिला मतदातासँग प्रत्यक्ष संवाद र स्थानीय मुद्दालाई प्राथमिकतामा राखेको बताउनु भयो। उहाँले पर्सा–२ लाई समृद्ध र व्यवस्थित निर्वाचन क्षेत्र बनाउने प्रतिबद्धता दोहोर्याउँदै मतदातासँग सहयोग र समर्थनको अपिल गर्नुभयो।