वीरगञ्ज। नेकपा एमाले वीरगञ्ज महानगर कमिटीको आयोजनामा सम्पन्न पार्टी प्रवेश कार्यक्रमले वीरगञ्जको राजनीतिक वृत्तमा नयाँ चर्चा चलेको छ । केन्द्रीय उपमहासचिव नेता योगेश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न दलबाट आएका प्रभावशाली नेताहरू एमालेमा समाहित भएका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व सभापति तथा जसपा युवा नेता मुकेश द्विवेदी, वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का पूर्व वडाध्यक्ष मनोज कलवार, वडा नम्बर ३ का पूर्व वडा सदस्य तथा वीरगञ्ज न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तरलगायत नेताहरूले औपचारिक रूपमा नेकपा एमाले प्रवेश गरेका हुन् । कार्यक्रममा केन्द्रीय उपमहासचिव भट्टराईले नवप्रवेशी नेताहरूलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रिमा कुमारी यादवले वीरगञ्जमा एमालेप्रतिको जनआकर्षण बढ्दै गएको बताइन् । उनले पार्टी प्रवेश कार्यक्रम अत्यन्तै सफल र उत्साहजनक रूपमा सम्पन्न भएको उल्लेख गर्दै नवप्रवेशी नेताहरूको आगमनले संगठन अझ मजबुत हुने विश्वास व्यक्त गरिन् । यादवका अनुसार समाज, शिक्षा, स्थानीय शासन र न्यायिक प्रक्रियासँग प्रत्यक्ष अनुभव बोकेका नेताहरू एमालेमा समाहित हुनु सकारात्मक पक्ष हो ।
पार्टी प्रवेश कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीको पनि सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित नेताहरूले वीरगञ्जको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र आधारभूत सेवाका विषयलाई केन्द्रमा राखेर एमालेले ठोस कार्यक्रमसहित अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा एमालेका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेता, कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।