वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यकी उम्मेदवार रिमा कुमारी यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ र १० विभिन्न टोलमा घरदैलो गरेकी छिन् । नेकपा एमालेकी उम्मेदवार यादवले मंगलबार ती वडाका विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थन मागेकी हुन् ।
वडा न. १० विशेष गरी उनका प्रतिस्पर्धी सुशिल साह कानुको आधार क्षेत्रका रूपमा चिनिँदै आएको छ । यही वडाको वडाअध्यक्षबाट राजीनामा लिएर संसदीय चुनावमा लागेका कानु राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन् । यद्यपी रिमाले भने उनलाई आफ्नो प्रतिद्वन्दी नै मान्दैनिन् । यही वडामा रिमाको समर्थनमा देखिएको जनसहभागितालाई संकेत गर्दै यादवले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै वडा नम्बर ९ र १० कुनै व्यक्तिको निजी क्षेत्र नभई जनताको क्षेत्र भएको उल्लेख गरेकी छन् ।
यादवले आफ्नो पोस्टमा “घरदैलो होइन, यो परिवर्तनको गर्जन हो” भन्ने अभिव्यक्तिसहित युवाशक्ति, अभिभावकको आशीर्वाद र पार्टीको विचारले जनलहर बढेको दाबी गरेकी छन् । वर्षौंदेखि कसैको किल्ला ठानिएको क्षेत्रमा जनताको भरोसाले नयाँ राजनीतिक संकेत दिएको उनको भनाइ छ ।
घरदैलो कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, मधेश प्रदेश उपाध्यक्ष विचारी यादव तथा वीरगञ्ज महानगरपालिका वडा नं. १० का एमालेबाट वडाध्यक्षका प्रत्यासी अजय गुप्ता लगायत नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।
टोलीले विभिन्न टोल–बस्तीमा पुगेर मतदातासँग संवाद गर्दै पार्टीका एजेण्डा, स्थानीय विकास योजना, रोजगारी सिर्जना तथा पूर्वाधार सुधारका विषयमा जानकारी गराएको थियो । स्थानीय बासिन्दाले उम्मेदवार यादवलाई खादा तथा टीका लगाएर स्वागत गर्दै आगामी निर्वाचनमा विजयको शुभकामना व्यक्त गरेका थिए । साथै, क्षेत्रको सडक, स्वास्थ्य, शिक्षा तथा आधारभूत सेवा सुधारप्रति आफ्नो अपेक्षा समेत राखेका थिए ।
घरदैलो अभियानका क्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको एमालेले जनाएको छ ।