वीरगञ्ज। वीरगञ्जमा पहिलो पटक नेत्रहिन क्रिकेट प्रशिक्षण सम्पन्न भएको छ । मधेश प्रदेश नेत्रहिन क्रिकेट संघ र नेपाल नेत्रहिन क्रिकेट संघको सयुँक्त आयोजनामा वीरगञ्जको विर्तास्थित त्रिजुद्ध स्कुलमा ५ दिने क्रिकेट प्रशिक्षण आइतवार सम्पन्न भएको हो ।
मधेश प्रदेश नेत्रहिन क्रिकेट संघका अध्यक्ष महेश साहकाअनुसार प्रशिक्षणमा पर्सा र बाराका विभिन्न विद्यालयका दृष्टि सम्बन्धी अपांगता भएका र अपांगता नभएका गरी २२ जना विद्यार्थीहरूलाई सहभागि गराइएको हो ।
सहभागीहरूलाई क्रिकेटका आधारभूत सीप, बलिङ, ब्याटिङ, फिल्डिङ तथा खेलका नियम सम्बन्धी व्यवहारिक अभ्यास गराइएको प्रशिक्षक मन केसी चौधरीले जानकारी दिइन् ।
प्रशिक्षणमार्फत खेलका नियमसहित धेरै कुरा सिक्न पाइएको खेलाडी शिववरण चौधरीले बताए । श्री नेरामावि डुमरवानामा अध्ययनरत मेलिना चौधरीले ब्याटिंग, बलिंग र फिल्डिंग गर्न सिकेको बताउँदै खेलाडी बनेर राष्ट्रियस्तरका प्रतियोगितामा खेल्ने सपना रहेको बताइन् ।
सपांग र अपांगता भएका विद्यार्थीहरु सँगै खेल्दा अपांगता भएकाहरुलाई गरिने हिनताको भाव हटेर समानताको भाव जागृत भएको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक हरिन्द्र कुर्मीले बताए । अपांगता भएका विद्यार्थीहरुको खेलकुदसँगै सर्वांगिन विकासका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने प्रधानाध्यापक यादवले प्रतिबद्धता जनाए ।
प्रशिक्षणकै क्रममा वीरगञ्ज महानगरपालिका वडा न. २० अपौनी मैदानमा प्रतियोगिता पनि आयोजना गरिएको थियो । प्रशिक्षार्थीहरुलई सगरमाथा र कन्चनजंघा गरी दुई समूहमा विभाजन गरी खेलाइएको प्रतियोगितामा कन्चनजंघा विजयी भएको थियो ।
पहिला टस जितेर कन्चनजंघाले फिल्डिंग रोजेपछि ब्याटिंग गरेको सगरमाथाले १० ओभरको खेलमा १०२ रनको योगफल जोडेको थियो । १०३ रनको लक्ष्य कन्चनजंघाले ५.२ ओभरमै भेटाएपछि कन्चनजंघा विजयी भएको थियो ।
प्रतियोगितामा ३४ रन जोड्नुका साथै एक विकेट लिएका कन्चनजंघाका साहिल शेख प्लेयर अफ दी म्याच घोषित भएका थिए ।