वीरगञ्ज । पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामकिशोर सिंह परागले नारायणी अस्पताललाई मेडिकल कलेज बनाउने बहसभन्दा अघि अस्पतालकै सेवा–सुविधा सुधार गर्नु अत्यावश्यक रहेको बताएका छन् ।
अजोरिया मिडिया प्रा.ली. ले वीरगञ्जमा आयोजना गरेको ‘लोग पुछता’ कार्यक्रममा बोल्दै उनले अस्पतालको व्यवस्थापन, जनशक्ति र सेवा प्रणाली सुदृढ नगरी शिक्षण कार्यक्रम प्रभावकारी नहुने धारणा व्यक्त गरे ।
उज्यालो नेपाल पार्टीका उम्मेदवार परागले नारायणी अस्पताल उपचारको मुख्य केन्द्र भएकाले यहाँ आउने बिरामीले छिटो, सहज र गुणस्तरीय सेवा पाउनु नै पहिलो प्राथमिकता हुनुपर्ने बताए । “नारायणी अस्पताल पहिला उपचारको थलो हो, यहाँ शिक्षणभन्दा अघि उपचार प्रणाली व्यवस्थित हुनुपर्छ,” उनले भने, “अस्पताल आफैं बिरामी जस्तो अवस्थामा छ, यसलाई उपचार गरेर सक्षम बनाउनु जरुरी छ ।”
कार्यक्रममा उनले आफू लामो समयदेखि पर्सा जिल्लाका जनतासँग नजिकिएर काम गर्दै आएको उल्लेख गर्दै स्थानीय समस्या प्रत्यक्ष रूपमा बुझेकाले समाधानका लागि स्पष्ट योजना रहेको बताए । जनताको सुख–दुःखमा साथ दिँदै आएको अनुभवका आधारमा आफूलाई मत दिन उनले आग्रह गरे ।
परागले वीरगञ्ज तथा आसपासका क्षेत्रमा देखिएका स्वास्थ्य, शिक्षा, रोजगारी, सडक पूर्वाधार, खानेपानी र सरसफाइका समस्या समाधान आफ्नो मुख्य एजेण्डा रहेको बताए । उनले सीमावर्ती व्यापारिक क्षेत्र भएकाले ट्राफिक व्यवस्थापन, औद्योगिक वातावरण सुधार, युवालाई सीपमूलक तालिम तथा रोजगार अवसर सिर्जना गर्न आवश्यक नीति ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
उनले शहरी क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापनको समस्या, ढल निकासको अभाव, बाढी–डुबानको जोखिम तथा सार्वजनिक सेवामा देखिएको ढिलासुस्ती अन्त्य गर्न समन्वयात्मक पहल आवश्यक रहेको पनि बताए ।
स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा विस्तार, विद्यालयको शैक्षिक गुणस्तर सुधार र युवालाई विदेशिनु नपर्ने वातावरण निर्माण गर्ने आफ्नो योजना रहेको उनले स्पष्ट पारे ।
‘लोग पुछता’ कार्यक्रममार्फत मतदाताले प्रत्यक्ष रूपमा प्रश्न राख्ने अवसर पाएको उल्लेख गर्दै परागले यस्ता संवाद कार्यक्रमले उम्मेदवार र जनताबीच विश्वास बढाउने विश्वास व्यक्त गरे ।