माघ २३, पर्सा ।
नेपालको राजनीतिक बहसमा आज सबैभन्दा धेरै प्रयोग हुने शब्द हो— “नयाँ अनुहार।” सबैले भन्छन्, अब पुराना नेताबाट केही भएन, नयाँ पुस्ता आउनुपर्छ, Gen Z राजनीति चाहिन्छ। तर व्यवहार हेर्दा लाग्छ, हामी नयाँ अनुहार होइन, पुरानै अनुहारलाई नयाँ पोस्टरमा देख्न चाहन्छौं।
चुनाव आउँदा उही पुराना नेताहरू पार्टी बदल्छन्, नयाँ झण्डा समाउँछन्, युवा भाषा बोल्छन्, TikTok बनाउँछन् र आफूलाई “नयाँ विकल्प” भनेर प्रस्तुत गर्छन्। तर नीति, सोच र काम गर्ने शैली भने उही दशकौं पुरानो हुन्छ। अनि हामी फेरि भन्छौं— “राजनीति बदलिएन।”
तर समस्या केवल नेतामा मात्रै छैन, हामी मतदाता, समाज र मिडियामा पनि छ।
कहिलेकाहीँ साँच्चै नयाँ, इमानदार, पढेको, काम गरेको र फरक सोच भएको व्यक्ति राजनीतिमा आउँछ। पार्टीले वा स्वतन्त्र रूपमा उसलाई मौका पनि दिन्छ। तर त्यही क्षणदेखि उसमाथि अविश्वासको वर्षा सुरु हुन्छ।
मतदाताले भन्छन्—
“यो त धेरै जवान छ, राजनीति बुझ्दैन।”
“यसले के नै गर्न सक्छ र?”
“पछाडि कसको support छ?”
समाजले भन्छ—
“अहिले किन राजनीति? आफ्नो career बनाउनु नि।”
“महिला भएर त झन् गाह्रो हुन्छ।”
अनि मिडिया?
मिडियाले विकास योजना, सोच र नीति भन्दा पनि यस्ता प्रश्न सोध्छ—
“तपाईंलाई कसले अगाडि सारेको हो?”
“पार्टीभित्र तपाईंलाई कति support छ?”
“अनुभव बिना संसदमा गएर के गर्नुहुन्छ?”
यस्ता प्रश्नले नयाँ अनुहारलाई बुझ्न होइन, दबाउन र कमजोर देखाउन काम गर्छन्। सामाजिक सञ्जालमा त झन् हालत खराब हुन्छ। एउटा गलत शब्द, एउटा अधुरो उत्तर, वा एउटा पुरानो फोटो— बस्, त्यसैबाट ट्रोलिङ सुरु।
विशेष गरी महिला उम्मेदवार भए भने आलोचना झन् व्यक्तिगत बन्छ।
उनको कपडा, बोली, हाँसो, पारिवारिक पृष्ठभूमि— सबै राजनीति बनाइन्छ।
काम र विचारभन्दा चरित्रमाथि बहस हुन्छ।
यसरी हामी के सन्देश दिइरहेका छौं?
“नयाँ आउनुहोस्” भन्छौं, तर आएपछि भन्छौं—
“तिमी योग्य छैनौ।”
यो कस्तो विरोधाभास हो?
Gen Z राजनीति चाहिन्छ भन्ने हामी नै हौं, तर जब Gen Z अगाडि आउँछ, हामी नै उसलाई crush गर्छौं। विश्वास नगरी, मौका नदिई, सिक्न नदिई, गल्ती गर्न नदिई हामी परिणाम खोज्छौं। तर राजनीति कुनै shortcut course होइन, यो सिक्दै जाने प्रक्रिया हो।
पुराना नेताले ३० वर्ष गल्ती गर्दा “अनुभव” भन्छौं।
नयाँ नेताले ३ महिनामा गल्ती गर्दा “अयोग्य” भन्छौं।
यही double standard ले राजनीति बन्द घेरामा सीमित बनाएको छ।
अर्को तर्फ, पुराना नेताहरू सजिलै पार्टी फेर्छन्, विचार फेर्छन्, तर उनीहरूलाई कसैले गहिरो प्रश्न गर्दैन। मिडिया पनि उनीहरूका विवादलाई “normal politics” भन्छ। तर नयाँ अनुहारले प्रश्न सोध्यो भने “बिद्रोही”, “अपरिपक्व” र “attention seeker” को ट्याग लाग्छ।
Gen Z राजनीति भनेको perfect मानिस खोज्नु होइन।
Gen Z राजनीति भनेको honest process खोज्नु हो।
गल्ती स्वीकार गर्ने नेता, प्रश्न सुन्न सक्ने नेता, र power होइन purpose का लागि राजनीति गर्ने नेता।
तर जबसम्म मतदाता भावनामा भोट हाल्छ, मिडिया sensationalism पछि दौडिन्छ, र समाजले नयाँलाई सिक्ने मौका दिँदैन— तबसम्म राजनीति बदलिँदैन।
अब समय आएको छ, हामीले पनि आत्मसमीक्षा गर्नुपर्छ।
के हामी साँच्चै नयाँ नेतृत्व चाहन्छौं?
कि केवल पुरानै नेताबाट निराश भएर नयाँ शब्द प्रयोग गरिरहेका छौं?
नयाँ अनुहार भनेको उमेर मात्र होइन, नयाँ सोच, नयाँ संस्कार र नयाँ जवाफदेहिता हो। र त्यो विकसित हुन समय, समर्थन र विश्वास चाहिन्छ।
यदि हामीले नयाँलाई ट्रोल गरेर, शंका गरेर, दबाएरै हटाइरह्यौं भने—
भोलि फेरि उही प्रश्न दोहोरिन्छ:
“नयाँ अनुहार किन आएन?”
सायद उत्तर सरल छ—
आएका नयाँलाई हामीले टिक्न दिएनौं।
अब Gen Z ले स्पष्ट भन्नुपर्छ—
हामीलाई perfect होइन, progressive नेता चाहिन्छ।
हामीलाई ट्रोल गर्ने राजनीति होइन, trust गर्ने राजनीति चाहिन्छ।
हामीलाई फेस होइन, सिस्टम परिवर्तन चाहिन्छ।
नत्र, हरेक चुनावमा उही नारा, उही निराशा, र उही पुरानो राजनीति दोहोरिइरहन्छ—
केवल पोस्टर नयाँ, सोंच पुरानो।