वीरगञ्ज । उज्यालो नेपाल पार्टीबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार रामकिशोर सिंह परागले विकास, सुशासन र युवामैत्री योजनालाई प्राथमिकतामा राख्दै आफूलाई विजयी गराउन मतदातासँग अपिल गरेका छन् ।
बल्ब चिह्नमा मतदान गर्न आग्रह गर्दै उनले यसपटक मतदाताले परम्परागत राजनीतिक शैली भन्दा परिणाममुखी नेतृत्व खोजिरहेको उल्लेख गरे । “काम गर्ने इच्छा, स्पष्ट योजना र जनताप्रतिको उत्तरदायित्व नै मेरो मुख्य आधार हो,” उनले भने ।
वीरगञ्ज महानगरपालिका वडा नं. २० का वडाअध्यक्षका रूपमा कार्यरत रहँदा स्थानीय पूर्वाधार, सरसफाइ, सडक सुधार र जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गरेको अनुभवका आधारमा संसदीय भूमिकामा आफु सही साबित हुने उनको जिकिर छ । नगरसभामा सक्रिय भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य, वातावरण र सेवा प्रवाहसँग सम्बन्धित विषयमा निरन्तर आवाज उठाएको उनको भनाइ छ । स्थानीय स्तरमा खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम र प्रतिभा पहिचान अभियानमार्फत युवालाई अवसर सिर्जना गरेको कारण आफू युवामाझ लोकप्रिय बनेको उनले दाबी गरेका छन् ।
पर्सा जिल्लाको समग्र विकासलाई केन्द्रमा राख्दै परागले स्वास्थ्य, खेलकुद र वातावरण क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । नारायणी अस्पतालको सेवा विस्तार, नारायणी रंगशालाको स्तरोन्नति तथा सिरसिया नदीको प्रदूषण नियन्त्रणका लागि संघीय स्तरबाट आवश्यक बजेट र योजना ल्याउने उनको प्रतिबद्धता छ ।
त्यसैगरी, सरकारी कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री, छिटो र पारदर्शी बनाउने, भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्ने तथा नागरिकलाई सहज सेवा उपलब्ध गराउने विषयलाई उनले आफ्नो मुख्य एजेन्डामा राखेका छन् । सीमावर्ती क्षेत्रको व्यापारिक सम्भावनालाई उपयोग गर्दै उद्योग, व्यवसाय र रोजगारी विस्तार गर्ने योजना पनि उनले सार्वजनिक गरेका छन् ।
युवालाई लक्षित गरी सीपमूलक तालिम, स्टार्टअप प्रवद्र्धन र स्थानीय उत्पादनको बजार व्यवस्थापनमा विशेष कार्यक्रम सञ्चालन गर्ने परागले बताएका छन् । “विदेश पलायन रोक्न युवालाई आफ्नै ठाउँमा अवसर दिनुपर्छ,” उनले भने, “उद्यमशीलता विकासमार्फत आर्थिक सशक्तीकरण नै दीर्घकालीन समाधान हो ।”
यसैगरी, कृषि आधुनिकीकरण, सिँचाइ व्यवस्थापन, शहरी व्यवस्थापन, ट्राफिक सुधार तथा सुरक्षित र व्यवस्थित वीरगञ्ज निर्माणलाई पनि आफ्नो प्राथमिक कार्यसूचीमा राखेको उनले उल्लेख गरेका छन् ।
“अबको निर्वाचन व्यक्तिको होइन, दृष्टिकोणको हो,” उनले भने, “नयाँ सोच, युवा नेतृत्व र ठोस विकास योजनाका आधारमा मतदाताले सही निर्णय गर्ने विश्वास लिएको छु ।”