पर्सागढीमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम, रिमा यादवको पक्षमा बढ्दो जनलहर

bpnnetwork.com

वीरगञ्ज। पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ५ बहुअर्वामा नेकपा (एमाले) को अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौँ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। आयोजकका अनुसार जसपा नेपाल र नेपाली कांग्रेस लगायतका दलबाट ठूलो संख्यामा नेता–कार्यकर्ता एमालेमा आबद्ध भएका हुन्।

कार्यक्रम स्थल जनसहभागिताले भरिभराउ देखिन्थ्यो। स्थानीय बासिन्दा, युवा, महिला तथा पार्टी समर्थकको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आसन्न निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेलालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले विकासका मूल आधार शिक्षा, स्वास्थ्य र कृषिलाई बनाउनु पर्ने बताइन्। उनले भनिन्, “हाम्रो क्षेत्रको समृद्धि नारामा होइन, काममा देखिनुपर्छ। विद्यालयमा गुणस्तरीय शिक्षा, अस्पतालमा सहज र भरपर्दो सेवा, र खेतमा आधुनिक प्रविधि पुगे मात्रै जनताको जीवनस्तर माथि उठ्छ।”

यादवले विगतमा थालिएका तर बीचमै रोकिएका योजनालाई पुनः गति दिने प्रतिबद्धता जनाउँदै भनिन्, “तपाईंहरूको विश्वासलाई म निराश हुन दिनेछैन। युवा रोजगारी, किसानलाई मल–बीउको सहज व्यवस्था र महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम मेरो प्राथमिकतामा रहनेछ।” उनले मतदातासँग सूर्य चिन्हमा मतदान गरी विकासको अभियानलाई सफल बनाउन आग्रह गरिन्।

कार्यक्रममा उद्योगी तथा एमाले नेता विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह र पूर्व वडा अध्यक्ष असलम आलम लगायतले सम्बोधन गरेका थिए। वक्ताहरूले संगठन सुदृढीकरण, जनतामुखी कार्यक्रम र दीर्घकालीन विकास योजनामा सबै नेता–कार्यकर्ता एकजुट हुनुपर्ने धारणा राखे।

वक्ताहरूले पर्सागढी क्षेत्रको सडक, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै एमाले उम्मेदवार रिमा यादवलाई जिताउन आग्रह गरे। कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूले एमालेको नीति, कार्यक्रम र नेतृत्वप्रति विश्वास व्यक्त गरेका थिए।

पर्सागढीमा भएको यो भेलालाई आगामी निर्वाचनको सन्दर्भमा एमालेको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। स्थानीय तहदेखि प्रतिनिधिसभासम्म विकासको एउटै धार समातेर अघि बढ्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया