वीरगञ्ज। पर्सा क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले महिलालाई शिक्षित बनाउनु देशको समृद्धि र विकासको आधार रहेको बताएकी छिन् । उनका अनुसार महिलाहरू शिक्षित भए मात्रै समाज र देश शिक्षित बन्न सक्छ । यसका लागि बीचमा रोकिएको प्रौढ शिक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकता उनले औँल्याइन् । यादवले महिलाको शिक्षा, सशक्तिकरण र सामाजिक सहभागिता नै लोकतन्त्र र स्थानीय विकासको मूल आधार भएको जिकिर गरेकी छिन् ।
उम्मेदवार यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ बगहीमा आयोजित नेकपा एमालेको आमसभालाई सम्बोधन गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, स्थानीय पूर्वाधार विकास र महिला अधिकारको पक्षमा बलियो काम गर्ने प्रतिबद्धता जनाएकी छिन् । विशेष गरी सामुदायिक विद्यालयमा बस लागू भएमा प्रदेश तथा स्थानीय सरकारबाट बर्सेनि निकासा हुने साइकलको बजेट बचत हुने भएकाले त्यसलाई प्रभावकारी रूपमा उपयोग गरिने पनि उनले बताइन् ।
यसअघि यादवले वीरगञ्जको इनरुवामा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेकी थिइन् । घरदैलोमा उनले मतदाताको घर–घरमा पुगेर उनीहरूको समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिइन् । मतदातालाई सूर्य छापमा मतदान गर्न आग्रह गर्दै उनले आफू निर्वाचित भए महिलासँग सम्बन्धित मुद्दालाई प्राथमिकताका साथ संसदमा उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।
स्थानीयवासीका अनुसार यादवको घरदैलो र आमसभामा प्रत्यक्ष संवादले मतदातामा सकारात्मक प्रभाव पारेको छ । युवापुस्ता देखि ज्येष्ठ नागरिकसम्मले उनीलाई विश्वास दिन थालेका छन् । यही विश्वासका कारण पर्सा क्षेत्र नम्बर २ मा एमालेप्रतिको समर्थन बढ्दो देखिएको र रिमा यादव राजनीतिक प्रतिस्पर्धामा बलियो दाबेदारका रूपमा स्थापित हुँदै गएको स्थानीयहरूको विश्लेषण छ ।
नेकपा एमालेकी प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ अन्तर्गत इनरुवामा घरदैलो कार्यक्रम गरेकी छिन् । घरदैलोका क्रममा उनले स्थानीय मतदाताको घर–घरमा पुगेर भेटघाट गर्दै क्षेत्रका समस्या, गुनासा र आवश्यकताबारे जानकारी लिइन् ।
इनरुवामा घरदैलो कार्यक्रम सम्पन्न गरेपछि वडा नम्बर २८ कै बगहीमा आयोजना गरिएको आमसभामा यादवले सहभागिता जनाएकी थिइन् । आमसभालाई सम्बोधन गर्दै उनले अस्थायी राहतमा सीमित राजनीति होइन, दीर्घकालीन नीति र स्पष्ट योजनाबाट मात्रै जनताको समस्या समाधान गर्न सकिनेमा जोड दिइन् ।
आमसभामा बोल्दै यादवले महिला शिक्षा, प्रौढ शिक्षा कार्यक्रमको निरन्तरता, स्वास्थ्य क्षेत्रमा बर्थिङ सेन्टर निर्माण, तथा शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने बताइन् । उनले महिलाका मुद्दालाई प्रतिनिधिसभामा विशेष प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरिन् ।
साथै उनले विकासलाई नारा होइन, परिणामसँग जोडेर अघि बढाउने धारणा राख्दै स्थानीय आवश्यकता र जनताको आवाजलाई नीति निर्माणको केन्द्रमा राख्ने स्पष्ट पारिन्। आमसभामा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
स्थानीयवासीका अनुसार घरदैलो र आमसभामार्फत उम्मेदवार यादवले प्रत्यक्ष रूपमा मतदातासँग संवाद गरेपछि चुनावी माहोल थप सक्रिय बन्दै गएको छ । वडा नम्बर २८ मा नेकपा एमालेप्रतिको आकर्षण पनि क्रमशः बढ्दै गएको स्थानीयहरूको भनाइ छ ।