वीरगञ्ज। पर्सा क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ७ रघुनाथपुरमा सयौँको संख्यामा विभिन्न दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीका केन्द्रीय सदस्य बिजय सरावगीले टीका लगाएर स्वागत गरेका थिए।
एमाले प्रवेश गर्नेहरूमा वडा नं. ७ का पूर्व वडा अध्यक्ष रामजी साह तेली लगायत रहेका छन्। कार्यक्रममा करिब एक सयभन्दा बढी महिला पनि एमालेमा आबद्ध भएका छन्।
कार्यक्रममा पर्सा क्षेत्र नं. २ की एमाले उम्मेदवार रिमा यादवको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै रिमा यादवले रघुनाथपुरका जनताको उत्साहले आफू थप जिम्मेवार बनेको बताइन्। “जनताको विश्वास र साथले नै परिवर्तन सम्भव हुन्छ। तपाईंहरूले देखाएको भरोसालाई हामी जितमा बदल्नेछौं,” उनले भनिन्।
उनले विकास, सुशासन र समावेशी सहभागितालाई आफ्नो मुख्य प्राथमिकता रहने स्पष्ट पार्दै अब पर्सा क्षेत्र नं. २ मा स्थायी विकासका योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन्।
कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एमाले प्रदेश उपाध्यक्ष बिचारी यादव, असलम अन्सारी, शिव पटेल, बहुदरामाई नगरपालिकाका मेयर सिंहासन साह तेली लगायतको सहभागिता रहेको थियो।
वक्ताहरूले आसन्न निर्वाचनमा रिमा यादवलाई विजयी गराउन सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै एमालेप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको दाबी गरेका थिए।