काँग्रेसको गढ विन्दवासिनीमा एमालेको लहर

bpnnetwork.com

फागुन-१४,पर्सा ।

नेपाली कांग्रेसको गढ मानिने पर्सा निर्वाचन क्षेत्र–२ अन्तर्गत पर्ने वीरगंज–१९, विन्दवासिनी कुनै समय यस्तो बस्ती थियो जहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को नाम मात्र सुनिन्थ्यो, संगठन भने देखिँदैनथ्यो। स्थानीय तहका गतिविधिमा एमालेको उपस्थिति शून्यजस्तै थियो। तर अहिले समय बद्लिएको छ । आज त्यही विन्दवासिनी एमालेको लहरले गुञ्जायमान बनेको छ।

स्थानीय बासिन्दाका अनुसार केही वर्ष अघिसम्म यहाँ एमालेको औपचारिक कमिटी नै थिएन। राजनीतिक रूपमा अन्य दलहरूको प्रभाव बलियो थियो। तर पछिल्लो समय राजनीतिक माहोलमा आएको परिवर्तनसँगै एमालेप्रति आकर्षण बढ्दै गएको देखिन्छ।

यो परिवर्तनको केन्द्रमा छिन् पर्सा क्षेत्र नम्बर–२ की उम्मेद्वार रिमा कुमारी यादव। उनको निरन्तर घरदैलो अभियान, जनतासँगको प्रत्यक्ष संवाद र विकासका एजेण्डाले विन्दवासिनीमा नयाँ राजनीतिक वातावरण सिर्जना गरेको स्थानीयहरू बताउँछन्।

रिमा कुमारी यादवले शिक्षा, स्वास्थ्य, पूर्वाधार र रोजगारीका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै समर्थकहरू उत्साहित देखिन्छन्। उनका कार्यक्रमहरूमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिन थालेको छ।

“पहिले एमालेको झण्डा देख्न मुस्किल थियो, अहिले हरेक टोलमा देखिन्छ,” एक स्थानीयले भने, “रिमा जीको सक्रियताले यहाँ माहोल नै बदलिएको छ।”

विन्दवासिनीमा भएको पछिल्लो भेलामा उल्लेख्य भीड देखिएपछि यस क्षेत्रलाई एमालेको नयाँ गढका रूपमा हेरिन थालिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार संगठित रूपमा अघि बढेको अभियान र स्थानीय मुद्दामा केन्द्रित रणनीतिले छोटो समयमै प्रभाव जमाउन सफल भएको देखिन्छ।

वीरगंज–१९ विन्दवासिनीमा देखिएको यो परिवर्तनले पर्सा–२ को चुनावी समीकरणमा नयाँ तरंग ल्याएको छ। अब परिणामले कस्तो सन्देश दिन्छ, त्यो भने आगामी निर्वाचनले नै स्पष्ट पार्नेछ।

प्रतिक्रिया