वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा न. १७ अलौँमा नेकपा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वडा कमिटी अध्यक्ष उस्मान अन्सारीको अध्यक्षतामा भएको हो भने वडा अध्यक्ष सञ्जिव बहादुर क्षेत्रीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा समाजवादी पार्टी परित्याग गरी किसुनदेव यादवसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई नेकपा एमाले पर्सा क्षेत्र न. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादव, केन्द्रीय सदस्य विजय कुमार सरावगी तथा मधेश प्रदेश उपाध्यक्ष विचारी यादवलगायतका नेताहरूले स्वागत गरेका थिए।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले जनताले अब स्पष्ट विकल्प खोजिरहेको बताइन्। उनले विकास, सुशासन र जनजीविकाको सवालमा एमालेप्रति बढ्दो भरोसाका कारण विभिन्न पार्टीका नेता कार्यकर्ता एमालेतर्फ आकर्षित भइरहेको बताइन्। “एमाले जनतासँगै हिँड्ने, जनताकै समस्यालाई प्राथमिकतामा राख्ने पार्टी हो,” उनले भनिन्, “आजको यो सहभागिताले पर्सा क्षेत्र न. २ मा एमालेप्रतिको विश्वास झन् मजबुत बनेको छ।”
रिमा यादवले नवप्रवेशीहरूलाई पार्टीको नीति, सिद्धान्त र अनुशासनभित्र रहेर संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरिन्। उनले आगामी दिनमा वीरगञ्जको विकास र जनताको अधिकारका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा सहभागी नवप्रवेशीहरूले पनि एमालेको नेतृत्व र विचारप्रति भरोसा व्यक्त गर्दै सक्रिय रूपमा पार्टीको अभियानमा लाग्ने प्रतिबद्धता जनाएका थिए।