फागुन ९, वीरगंज।
पर्सा निर्वाचन क्षेत्र–२ बाट उम्मेदवारी दिनुभएको रिमा यादवले आफूलाई “सचेत र जिम्मेवार सांसद”को रूपमा प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। चुनावी घरदैलो कार्यक्रमका क्रममा उहाँले संसदमा पुगेर जनताको आवाज बुलन्द गर्ने र परिणाममुखी काम गर्ने अठोट दोहोर्याउनुभयो।
यादवले कानुन निर्माणको क्षेत्रमा सक्रिय भूमिका खेल्ने, आवश्यक ऐन,कानुन परिमार्जनका लागि पहल गर्ने र जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “म पर्सा–२ का नागरिकको अपेक्षा पूरा गर्नेगरी नीतिगत पहल गर्नेछु।”
उहाँका अनुसार बजेट तर्जुमा र पैरवीमार्फत क्षेत्रको विकासका योजनालाई संघीय तहमा मजबुत ढंगले उठाइनेछ। विशेषगरी कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानमैत्री नीति, सुलभ ऋण, मल–बीउको सहज उपलब्धता र कृषिको आधुनिकीकरणका कार्यक्रम अघि सारिने प्रतिबद्धता व्यक्त गर्नुभयो। किसानलाई राहत र उत्पादन वृद्धि दुवैलाई सँगसँगै लैजानुपर्ने उहाँको धारणा छ।
युवा तथा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नीति पनि आफ्नो प्राथमिकतामा रहेको यादवले बताउनुभयो। “रोजगार सिर्जना र स्वरोजगारका अवसर विस्तार नगरी समृद्धि सम्भव छैन,” उहाँले भन्नुभयो। सीप विकास तालिम, स्टार्टअप प्रोत्साहन र स्थानीय उद्योग प्रवर्द्धनका कार्यक्रमलाई नीति तहबाटै संस्थागत गरिने उहाँको योजना छ।
स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै यादवले स्वास्थ्य बीमालाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने बताउनुभयो। ग्रामीण भेगसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन संघीय बजेटमार्फत विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
यसैगरी पर्साका सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण र प्रवर्द्धनका लागि ठोस नीति ल्याइने उहाँको भनाइ छ। पर्यटन प्रवर्द्धनसँग जोडेर स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य राखिएको उहाँले स्पष्ट पार्नुभयो।
रिमा यादवले आफू जनतासँग निरन्तर संवादमा रहने, समस्या सुन्ने र समाधानका लागि संसददेखि मन्त्रालयसम्म पहल गर्ने प्रतिबद्धता जनाउँदै मतदातासँग विश्वासको मत मागिरहनु भएको छ।
“सचेत सांसदको पहिचान कामले स्थापित हुन्छ र म त्यो गरेर देखाउने छु,” उहाँले भन्नुभयो।