बदलिदो राजनीतिमा उज्यालो अनुहारः रिमा कुमारी यादव

bpnnetwork.com

फागुन ६, वीरगंज। 

राजनीतिक परिवेश बदलिए सँगै राजनीतिमा नेताहरुको अनुहार बदलिनु स्वभाविक अनि आवश्यक मानिन्छ । पुरानै राजनीतिक विचारधारा लिएर चुनाव जित्दै आएका नेताहरुको पुरानै राजनीतिक शैलीबाट जनता दिक्क भइसकेको बेला पर्सेली चुनावी मैदानमा एमालेले नयाँ अनुहार अगाडी ल्याएको छ, रिमा कुमारी यादवको रुपमा । 

शिक्षण पेशाबाट आएकी रिमाको लागि राजनीतिक क्षेत्र नयाँ भएपनि अनौठो भने होइन । स्थानीय राजनीतिमा उनको परिवारको सक्रिय सहभागिता रहदै आएकोले उनले घरबाटै राजनीतिक अनुभवको छहारी पाएकी हुन् ।    

   नेपाल कम्युनिस्ट पार्टि एमालेको तर्फबाट पर्सा–२ की उम्मेदवार रिमा कुमारी यादव केवल एक राजनीतिक व्यक्तित्व मात्र होइनन्, समाजसेवाको माध्यमबाट जनताको मन जित्दै आएकी एक समर्पित महिला पनि हुन् । राजनीति उनको लागि पद र प्रतिष्ठाको साधन होइन, बरु समाज परिवर्तनको एउटा प्रभावकारी माध्यम हो ।

समाजमा गर्न चाहेको र हुनुपर्ने कतिपय कामहरु नितिगत तहबाटै सम्भव भएकोले उनले राजनीतिक क्षेत्र रोज्नुपरेको हो । 

रिमाले वर्षौंदेखि गरिब तथा विपन्न परिवारका छोरीहरूको विवाहमा आवश्यक भोज सामग्री सहयोग गर्दै आएकी छिन् । विवाह जस्तो महत्वपूर्ण अवसरमा आर्थिक अभावले कसैको खुशी नरोकिने विश्वासका साथ उनले खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री सहयोग गर्दै आएकी हुन् । उनका यी कदमहरूले धेरै परिवारको आँखा रसाएका छन् खुशीका आँसुले ।

समाजको दीर्घकालीन परिवर्तन शिक्षा र न्यायबाट मात्रै सम्भव हुन्छ भन्ने मान्यताका साथ उनले विपन्न विद्यार्थीहरूलाई निःशुल्क अध्ययन गराउने अवधारणा लिएकी छिन् । कापी–कलमदेखि शैक्षिक शुल्कसम्म सहयोग गरेर उनले थुप्रै विद्यार्थीहरूको भविष्य उज्यालो बनाउदै आएकी छिन् । 

त्यसैगरी, दीन–दुखी तथा अन्यायमा परेका नागरिकहरूलाई आवश्यक कानुनी सहयोग उपलब्ध गराउँदै उनले न्यायमा पहुँच सुनिश्चित गर्ने प्रयासमा सक्रिय भूमिका निर्वाह गरेकी छिन् । आर्थिक अभावकै कारण कोहि अन्यायमा नपरोस् भन्ने उनको स्पष्ट धारणा छ ।

रिमाको समाजसेवा केवल व्यक्ति केन्द्रित छैन, सामुदायिक विकासमा पनि उत्तिकै केन्द्रित छ । उनले विभिन्न स्थानमा मन्दिर निर्माण, कल र धारा निर्माणजस्ता कार्यमार्फत आधारभूत आवश्यकताहरू पूरा गर्न योगदान गर्दै आएकी छिन् । 

वातावरण संरक्षणप्रति सचेत रहँदै उनले वृक्षरोपण अभियानमा सक्रिय सहभागिता जनाउँदै हरित समाज निर्माणको सन्देश दिएकी छिन् । 

     रिमा कुमारी यादवका लागि राजनीति जनसेवाको निरन्तरता हो । समाजका हरेक वर्ग—गरिब, विद्यार्थी, महिला, दीन–दुखी—सबैका लागि उनले देखाएको समर्पणले उनलाई पर्सा–२ मा एक आशा र विश्वासको प्रतीक बनाएको छ।

उनको यात्राले ‘साँचो नेतृत्व भाषणमा होइन, कार्यमा देखिन्छ’ भन्ने सन्देश दिईरहेको छ । समाजसेवाको बलियो जगमा उभिएको उनको राजनीतिक यात्राले पर्सा–२ मा नयाँ सम्भावनाको ढोका खोलेको छ ।

प्रतिक्रिया