वीरगञ्ज। रौतहटको गौर नगरपालिका उत्पन्न विवादका कारण लगाइएको कर्फयु आइतबार पनि यथावत रहने भएको छ भने बिहान दुई घण्टा अत्यावश्यक कामका लागि खुकुलो पारिएको छ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले शनिबार साँझ कर्फ्यु आदेश जारी गर्दै फागुन १० गते बिहान साढे ६ बजेसम्म यथावत राखिएको जनाएका छन्। फागुन १० गते आइतबार बिहान साढे ६ देखि साढे ८ बजेसम्म भने खुकुलो पारिएको छ।
यो अवधिमा अत्यावश्यक कामकाज गर्न सकिने प्रमुख जिल्ला अधिकारी भुसालले जनाएका छन्। तथापि, भेला, जुसस तथा प्रदर्शन गर्न भने रोक लगाइएको छ।
त्यस्तै, फागुन १० गते आइतबार बिहान साढे ८ बजेदेखि भने कर्फ्यु निरन्तर रहने भएको छ। अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी भुसालले जनाएका छन्।
गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयको चार किल्लामा कर्फ्यु लगाइएको हो। यो क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, सभा, जुलुस तथ प्रदर्शन गर्न रोक लगाइएको छ।
स्थानीय समुदायबीच विवाद उत्पन्न भएपछि शनिबार दिउँसे १ बजेदेखि कर्फ्यु लगाइएको थियो। स्थिति नियन्त्रणमा आएको भए पनि थप हिंसाका घटना हुन नदिने कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
कर्फ्युको आदेश उल्लंघन गर्नेलाई कारबाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ। शान्ति स्थापना गर्नका लागि सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ।