माघ २२, वीरगञ्ज ।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवप्रति जनसमर्थन क्रमशः बढ्दै गएको देखिएको छ । पर्सागढी नगरपालिका वडा न. ३ झबराहामा सञ्चालन गरिएको घरदैलो कार्यक्रममा स्थानीयको सहभागिता र प्रतिक्रिया हेर्दा यादवप्रति जनलहर निर्माण हुँदै गएको संकेत देखिएको हो ।
घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले भोग्दै आएका समस्या सुनेकी छन् । किसान, महिला, युवा र अभिभावकहरूले आफ्ना अपेक्षा खुला रूपमा राख्दा यादवले त्यसको समाधान संसद् र नीति निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । यही शैलीका कारण स्थानीयमा विश्वास बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।
कृषि आधुनिकीकरण, गुणस्तरीय मल र बिउको सहज उपलब्धता, व्यावसायिक खेती प्रवद्र्धन, स्वास्थ्य सेवामा सुधार र सिपमूलक शिक्षामा जोड दिने एजेन्डाले मतदातालाई आकर्षित गरेको देखिन्छ । विशेष गरी महिला सशक्तीकरण, रोजगारी सिर्जना र उद्यमशीलतासम्बन्धी योजनाले महिला मतदातामाझ सकारात्मक प्रभाव पारेको स्थानीयको प्रतिक्रिया छ ।
पूर्वाधार विकासमा पारदर्शिता र गुणस्तरलाई प्राथमिकता दिने, सडक, ढल, पुल र बिजुली जस्ता आधारभूत सेवामा सुधार ल्याउने प्रतिबद्धताले पनि जनसमर्थन थपिएको बताइएको छ । घरदैलो कार्यक्रममा देखिएको सहभागिता र संवादको माहोलले यादवको पक्षमा वातावरण बन्दै गएको स्थानीय नेताहरूको विश्लेषण छ ।
स्थानीय मतदाताले विकास र परिवर्तनको अपेक्षासहित यादवप्रति भरोसा व्यक्त गर्दै आगामी निर्वाचनमा साथ दिने संकेत दिएका छन् । यससँगै पर्सा क्षेत्र नम्बर २ मा रिमा कुमारी यादवको जनलहर विस्तार हुँदै गएको देखिएको छ ।