मधेसमा शान्ति सुरक्षाको सुक्ष्म अध्ययन गर्न एआईजी चतुर्वेदीलाई खटाउने निर्णय

bpnnetwork.com

मधेस प्रदेशमा पछिल्लो समय शान्ति सुरक्षाको अवस्था बिग्रँदै गएपछि समाधानका लागि केन्द्रीय सुरक्षा समितिले गम्भीर चासो दिएको छ।

शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन नजिकिँदै जाँदा भएका घटनालाई गम्भीर रुपमा लिँदै थप अध्ययनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमाप्रसाद चतुर्वेदीलाई नै त्यस क्षेत्रमा पठाउने निर्णय गरेको हो। 

मधेसको निर्वाचनको तयारी र शान्ति सुरक्षाको अवस्थाबारे स्थलगत रुपमा अध्ययन गरेर सुरक्षाका सम्बन्धमा सुक्ष्म विश्लेषणसहितको प्रतिवेदन पेश गर्न एआईजी चतुर्वेदीलाई निर्देशन दिएको छ। चतुर्वेदीको प्रतिवेदनपछि त्यहाँ थप सुरक्षा योजना बनाएर कार्यन्वयन गर्ने केन्द्रीय सुरक्षा समितिको तयारी छ।  

रौतहटमा देखिएको घटनाका कारण सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सबै पक्षलाई आह्वान गरिएको छ। सुरक्षा निकायबीच उचित समन्वय गरेर सुरक्षा अवस्था बजबुद बनाउन जिल्ला सुरक्षा समिति रौतहटलाई निर्देशन पनि दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए। गैरकानुनी कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउने प्रक्रिया अगाडी बढाउन पनि निर्देशन दिइएको छ। 

तीन दिनअघि स्थानीय समुदायबीच विवाद भएको थियो। विवाद बढ्दै गएर झडप र तोडफोड गरिएको थियो। 

शनिबार पनि तोडफोड र आगजनी भएपछि कफ्र्यु आदेश जारी गरिएको छ। यस्तै घटनामा संलग्न दुवै तर्फका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया