वीरगञ्ज। पर्सा क्षेत्र नम्बर–२ मा चुनावी माहोल तातिँदै जाँदा पार्टी प्रवेशलाई केन्द्रमा राखेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो संगठन विस्तारलाई तीव्र बनाएको छ। बहुदरमाई नगरपालिका–५ डोकैला चौकमा आयोजित वृहत चुनावी भेला तथा पार्टी प्रवेश कार्यक्रममार्फत एमालेले स्थानीय तहमा आफ्नो आधार थप मजबुत भएको दाबी गरेको छ।
कार्यक्रम बहुदरमाई नगरपालिका मा सम्पन्न भएको हो। राष्ट्रिय सभा सदस्य तथा एमाले नेतृ रामकुमारी झाँक्री को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बारा क्षेत्र नम्बर–४ का उम्मेदवार किसान श्रेष्ठ, एमाले केन्द्रीय सदस्य विजय सरावगी, मोबिन आलम, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तेली, संखुवाप्रसौनी गाउँपालिकाका प्रमुख यशवन्त यादव र शिव पटेल लगायतले सम्बोधन गरेका थिए।
वक्ताहरूले आगामी निर्वाचनलाई स्थिर सरकार निर्माणसँग जोड्दै एमाले उम्मेदवारलाई समर्थन गर्न आग्रह गरे। विशेषगरी पर्सा क्षेत्र नम्बर–२ मा पार्टीले सक्षम र नयाँ पुस्ताको नेतृत्व अघि सारेको उल्लेख गर्दै उम्मेदवार रिमा यादव लाई विजयी गराउन अपिल गरिएको थियो।
उम्मेदवार यादवले मधेशका सामाजिक तथा विकाससम्बन्धी मुद्दालाई संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै मधेशी महिलाले भोग्दै आएका समस्या समाधान आफ्नो प्राथमिकता रहेको बताइन्। उनले क्षेत्रको विकासका लागि परिणाममुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै फागुन २१ गते मतदान गर्न मतदातासँग आग्रह गरिन्।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाली कांग्रेसबाट ठूलो संख्यामा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। पर्सागढी नगरपालिका–६ का बुथ सभापति काशी यादवको नेतृत्वमा करिब २५० जना कार्यकर्ता एमालेमा प्रवेश गरेको जनाइएको छ। स्थानीय स्तरमा प्रभावशाली मानिएका काशी यादवसहितको प्रवेशले सो क्षेत्रमा एमालेको संगठनात्मक शक्ति बढेको दाबी गरिएको छ। नवप्रवेशीहरूलाई प्रमुख अतिथि झाँक्री र उम्मेदवार यादवले फूलमाला तथा गम्छा लगाएर स्वागत गरेका थिए।
कार्यक्रममा एमाले मधेश प्रदेश उपाध्यक्ष बिचारी यादव, प्रदेश सभा सदस्य देवनारायण चौधरी, युवा नेता अकलेश साह लगायत ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो। स्थानीय युवा नेता कृष्णा यादवले स्वागत गरेको कार्यक्रम पर्सा जिल्ला सचिव महेश दासले सञ्चालन गरेका थिए।