एचआईभी र यौनरोग नियन्त्रणमा कन्डम प्रभावकारी, सचेतना बढाउन आग्रह

bpnnetwork.com

वीरगञ्ज। एचआईभी/एड्स तथा यौनरोगबाट सुरक्षित रहन कन्डमको प्रयोगलाई प्रोत्साहन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा वीरगञ्जस्थित नारायणी अस्पतालको सभाकक्षमा आयोजित कार्यक्रममा वक्ताहरूले कन्डमको नियमित र सही प्रयोगले एचआईभी तथा अन्य यौनरोगबाट बच्न सकिने बताएका हुन् ।

वीरगञ्ज महानगरपालिकाका एचआईभी फोकल पर्सन सुमनचन्द ठाकुले यौनरोग रोकथामका लागि महानगरपालिकाले सञ्चालन गरिरहेका कार्यक्रमबारे जानकारी दिए । उनले यौनरोगको रोकथाम, प्रारम्भिक पहिचान, समयमै उपचार तथा विद्यालयस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औँल्याए ।

त्यसैगरी एचआईभी/एड्सको परिचय, लक्षण र उपचार विधिबारे डा. अजीत साहले जानकारी गराए । उनले अद्यावधिक उपचार पद्धति, एआरटी सेवा र समाजमा रहेका मिथ्या धारणा तथा भ्रम हटाउन सामूहिक पहल आवश्यक रहेको बताए ।


एड्स हेल्थकेयर फाउण्डेशन नेपालकी काउन्सिलर रोशनी सर्राफले यस्ता सचेतनामूलक कार्यक्रमले नागरिकलाई सही जानकारी दिन सहयोग पुग्ने बताइन् । उक्त संस्थाले यौनरोग रोकथाम, परीक्षण र उपचारका क्षेत्रमा गरिरहेको काम तथा त्यसको प्रभावकारिताबारे पनि उनले स्पष्ट पारिन् । समुदायस्तरमा एचआईभी रोकथाम, परीक्षण तथा परामर्श सेवालाई प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको उनले जोड दिइन् ।


कार्यक्रममा नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी, एआरटी केन्द्रका प्रमुख एवम् प्रतिनिधि, वीरगञ्ज नर्सिङ् क्याम्पसका प्राध्यापक तथा विद्यार्थी, साथै एचआईभी/एड्स र यौनरोगको क्षेत्रमा कार्यरत संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त संस्थाका मयंक गुप्ताले जानकारी दिए ।

कार्यक्रमले एचआईभी/एड्स तथा यौनरोग रोकथामका लागि कन्डम प्रयोग, समयमै परीक्षण र उपचारप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया