वीरगञ्ज। जसरी बिरामी पर्दा सिटामोलले तत्काल राहत दिन्छ तर रोग निको पार्दैन, त्यसैगरी पर्सा–२ का समस्या पनि अस्थायी उपायले होइन, दीर्घकालीन नीति र स्पष्ट नेतृत्वबाट मात्र समाधान गर्ने रिमा कुमारी यादवको दृढता छ ।
लामो समयदेखि दोहोरिँदै आएका पुराना अभ्यास र अस्थायी समाधानप्रति असन्तुष्टि बढिरहेका बेला नेकपा एमालेप्रतिको आकर्षण बढ्दो देखिएको छ । पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गर्नेहरूको संख्या बढ्दै जाँदा क्षेत्रमा नयाँ राजनीतिक माहोल बनेको छ ।
स्थानीय तहदेखि टोलस्तरसम्म भइरहेका भेटघाट, घरदैलो र छलफल कार्यक्रममा नागरिकको उल्लेखनीय सहभागिता देखिन थालेको छ । मतदाताले अब भावनात्मक नाराभन्दा विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनमा ठोस काम गर्न सक्ने नेतृत्व खोजिरहेको सन्देश यी गतिविधिबाट प्रस्ट हुन्छ ।
यही परिवेशमा पर्सा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रिमा कुमारी यादवप्रति जनसमर्थन विस्तार हुँदै गएको छ । राजनीतिमा नयाँ देखिए पनि शिक्षा, महिला सशक्तीकरण र सामाजिक रूपान्तरणका क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकी यादवलाई मतदाताले कामबाट चिन्ने उम्मेदवारका रूपमा हेर्न थालेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनिमिल लिंकरोड निवासी यादवले बालबालिकालाई विद्यालय भर्ना गराउने, ड्रपआउट दर घटाउने र अभिभावकलाई शिक्षाप्रति सचेत बनाउने अभियानमार्फत स्थानीय तहमा विश्वास आर्जन गरेकी छन् । शिक्षा क्षेत्रसँग आबद्ध अभिभावक, शिक्षक र युवाहरूको समर्थनले उनको दाबीलाई थप बल पुगेको स्थानीयहरूको भनाइ छ ।
रिमा यादवले अस्थायी राहतमा सीमित नभई दीर्घकालीन समाधान दिने नीति र योजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आएकी छन् । विकासलाई नारामा होइन, परिणाममा रूपान्तरण गर्नुपर्ने धारणा राख्दै उनले शिक्षा सुधार, स्वास्थ्य सेवामा पहुँच, खानेपानी, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई आफ्नो प्राथमिकतामा राखेकी छन् ।
स्थानीयवासीका अनुसार युवापुस्तादेखि ज्येष्ठ नागरिकसम्म यादवको स्पष्ट दृष्टिकोण, सरल व्यवहार र क्षेत्रप्रतिको निरन्तर उपस्थितिले भरोसा बढाएको छ । यही विश्वासका कारण पर्सा–२ मा एमालेप्रतिको समर्थन क्रमशः सुदृढ बन्दै गएको र रिमा यादव चुनावी प्रतिस्पर्धामा बलियो दाबेदारका रूपमा स्थापित हुँदै गएको देखिएको छ ।